

बैतडी : पुर्चौडी नगरपालिकाको शिक्षा शाखामा कार्यरत एक कर्मचारीको साउन महिनाको हाजिरी अभिलेखलाई लिएर विवाद उत्पन्न भएको छ। शिक्षा शाखामा कार्यरत गीता कुमारी खड्काले साउन १४ गतेकै मितिमा सिंगो महिनाभरिको हाजिरी भरिएको देखिएको अभिलेख सार्वजनिक भएपछि प्रशासनिक पारदर्शिता र अभिलेख व्यवस्थापनमाथि प्रश्न उठेको छ।
घटनाबारे जानकारी लिन निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिलबहादुर बोहरासँग सम्पर्क गर्दा उहाँले यसलाई “सामान्य मिस्टेक” भएको बताउनुभयो। गल्ती भएको हाजिरी पाना हटाएर अर्को पानामा सही विवरण राखिएको उहाँले बताउनुभयो ।

तर प्राविधिक सहायक खड्काले भने आफूले टिपेक्स प्रयोग गरेर गल्ती सच्याउने प्रयास गरेको बताउनुभएको छ।
यद्यपि उपलब्ध प्रमाण र अभिलेखमा न गल्ती भएको पाना च्यातिएको देखिएको छ, न टिपेक्स प्रयोग गरेर गल्ती पूर्ण रूपमा सच्याइएको अवस्था नै स्पष्ट देखिएको छ। यसले जिम्मेवार अधिकारी र सम्बन्धित कर्मचारीको भनाइबीच स्पष्ट विरोधाभास देखाएको छ।





