

बैतडी : मेलौलीका प्रेम चन्दले बैतडी जिल्ला भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। असोज ४ गते हुने जिल्ला भलिबल संघको अधिवेशनमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा जिल्लामा खेलकुदको वातावरण थप मजबुत बनाउने उद्देश्यसहित आफू अध्यक्ष पदको प्रत्यासी बन्न लागेको चन्दले बताएका छन्।
चन्दले बैतडीमा भलिबलको सम्भावना उच्च रहे पनि खेलाडीलाई आवश्यक प्रशिक्षण, प्रतियोगिता तथा अवसरको पर्याप्त व्यवस्था हुन नसकेको बताएका छन्। आफू नेतृत्वमा आएमा जिल्लाका विभिन्न पालिकामा भलिबल गतिविधि विस्तार गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासलाई प्राथमिकता दिने उनको भनाइ छ।

उनले नियमित प्रतियोगिता सञ्चालन, खेलाडीलाई प्रशिक्षणको अवसर, प्रशिक्षक तथा रेफ्रीको क्षमता विकास, विद्यालयस्तरबाटै भलिबलको आधार तयार गर्ने र जिल्लाका प्रतिभालाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुर्याउने योजनालाई आफ्नो एजेन्डामा समेटेका छन्।
चन्दले भलिबल संघलाई पारदर्शी, सक्रिय र सबै खेलाडी तथा क्लबलाई समेट्ने संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्लाका स्थानीय तह, विद्यालय, क्लब तथा सरोकारवाला निकायसँग सहकार्य गरेर भलिबलको पूर्वाधार र गतिविधि विस्तार गर्ने उनको योजना छ।
“नयाँ सोच र योजनासहित भलिबलको विकासका लागि काम गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ,” चन्दले भने।
उनको उम्मेदवारीसँगै बैतडी जिल्ला भलिबल संघको आगामी नेतृत्वलाई लिएर खेलकुद क्षेत्रको चासोसमेत बढेको छ। चन्दले आफुले लामो समय महांरुद्र क्लबको संस्थापन कालदेखिनै खुल्ला भलिबल ,जिल्ला स्तरीय भलिबल,वडा स्तरीय भलिबल,प्रतियोगिता गरेको राष्ट्रिय रेफ्रीको भुमिकामा समेत काम गरेको बताए। चन्द यसअघि जिल्ला भलिबल संघको उपाध्यक्ष हुन।




