

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको रौनक छाएको छ । दोगडाकेदार गाउँपालिका-७ लवलेकमा नयाँ निर्माण गरीएको खेलमैदानमा गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता आजबाट सुरु गरेको हो ।
प्रतियोगितामा गाउँपालिकाका ११ विद्यालयको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता दिनेश प्रसाद भट्टले बताउनुभयो ।
रनिङ सिल्डको औपचारिक उद्घाटनको दिन आज जिद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिता समेत राखिएको थियो । आज पहिलो दिन नृत्य तथा गायन संगसंगै छात्र र छात्रा सय मिटर दौड प्रतियोगिता समेत सम्पन्न गरिएको छ । जसमा छात्र तर्फ श्रीकेदार मावि पीपलकोटका दिपक भुलले प्रथम, न्वाली मावि दोलीका सुरज दमाईले द्वतीय र सनातनधर्म मावि श्रीकोटका सागर कार्कीले तृतीय स्थान हाँसिल गरेका छन् ।


यस्तै छात्रा तर्फ भगवती मावि सित्तडकी अनिता जोशीले प्रथम, रौलेश्वर मावि मल्लाढीककी कौशीला कुँवरले द्वतीय र भगवती मावि सित्तडकी सोनम गोयलाले तृतीय स्थान हाँसिल गरेकी छिन् ।
गाउँपालिका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा गरिएको उद्घाटन समारोहमा बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी (लख्खाभाई) प्रमुख अतिथी रहुनभएको थियो । कार्यक्रममा बोल्दै जोशीले संघ तथा प्रदेश सरकारहरुले खेलकुद क्षेत्रलाई उपेक्षा गरेपनि स्थानीय तहहरुले खेलकुदलाई प्रथमिकता दिइरहेको बताउनुभयो ।
स्थानीय तहहरु स्वयमले विभिन्न प्रतियोगिताहरु आयोजना गरेर प्रतिभावान खेलाडीहरु बहिर ल्याइरहेको उहाले बताउनुभयो । उहाँले भन्नुभयो ‘संघ सरकारले राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताका लागि जम्मा एक लाख बजेट बिनियोजन गर्ने गर्छ तर स्थानीय तहहरुले विभिन्न प्रतियोगिताहरु संचालन गर्दा ५० लाख बढी व्ययभार खेप्नुपर्ने अवस्था छ ।’
कार्यक्रमका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष चक्र कार्कीले खेलकुदको विकासका लागि गाउँपालिकाले विगत देखिनै काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले खेलमैदान निर्माण र खेलाडीहरुलाई प्रोत्सानका कार्यक्रमहरु समेत गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले दोगडाकेदार गाउँपालिकाको प्रसंसा गर्दै अन्य पालिकाले समेत खेलकुदको विकासका लागि यहाँबाट सिक्नुपर्ने बताउनुभयो ।
आजबाट सुरु भएको प्रतियोगिता चार दिन सम्म चल्ने छ । यो प्रतियोगितालाई जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको तयारीका रुपमा समेत लिइएको छ ।



