

बैतडी : बैतडीको मेलौली धार्मिक सेवा समितिले मन्दिर परिसर भित्र धार्मिक तथा साँस्कृतिक बाहेक अन्य गतिबिधि नगर्न भनेको छ । शुक्रबार एक सुचना जारी गर्दै बैतडीको मेलौलीमा रहेको सुदुरपश्चिमकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल मेलौली भगवती मन्दिरको १ सय ३४ रोपनी क्षेत्रफलमा सवारी साधनको प्रवेश र खेलकुद जस्ता गतिविधिले धार्मिक तथा पर्यटन क्षेत्रको दुवाचौंड क्षति हुदै गएकाले उक्त गतिविधिमा बन्देज गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी दिनुभयो ।
मन्दिर परिसर भित्र प्रवेश गर्ने सवारी साधनलाई जरिवाना समेत तोकेको छ । बाइक र अटोलाई रु ३ सय, ट्याक्टर र जीपलाई रु ७ सय र अन्य ठुला सवारी साधनलाई रु ९ सय पटकै पिछे दोब्बर क्षतिपुर्ति असुल उपर गरिने जनाएको छ ।

निरन्तरको सवारी साधनको आवागमनले चौरको सुन्दरतामा ह्रास आउन थालेको भन्दै उक्त निर्णय गरिएको नायकले बताउनुभयो ।
मेलौली धार्मिक सेवा समितिको अनुमति बिना मन्दिरसंग सरोकार राख्ने विषयबाहेक गाडीको प्रवेश, धुवाँ चुलो, पसल थाप्ने र खेलकुद जन्य गतिबिधि नगर्न २०८१ पौष २९ गतेको भेलाले समेत निर्णय गरेको थियो । नियम बिपरित गतिबिधि गरेमा प्रचलित कानून तथा मेलौली धार्मिक सेवा समितिको बिधान “२०५६” मा ब्यवस्था भए बमोजिम कार्वाही गरिने सुचनामा उल्लेख गरिएकोछ ।




