

काठमाडौं : हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानहरूमा भने हुस्सु/कुहिरो लागेको छ।
शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने पूर्वानुमान छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि छ।



