

बैतडी : बैतडीको मेलौली २ कपर्त स्थित कोटेश्वर आधारभुत बिद्यालयले ४१ औं बार्षिकोत्सव मनाएको छ । बुधबार एक कार्यक्रमका बीच बिद्यालयले स्थापनाको ४१ बर्ष पुरा गरेको अवसरमा विविध साँस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव सम्पन्न गरेको शिक्षक दिपेन्द्र ओडले जानकारी दिनुभयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक धनिराम बिकले ३८ लाख १३ हजार बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बिद्यालय ब्यवस्थापन समिति कार्यवाहक अध्यक्ष केशव दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्ण दत्त भट्ट रहनुभएको थियो । प्रमुख अतिथि भट्टले हरेक बिद्यालयले पाँच बर्षसम्मको कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिनुभएको थियो ।
बिशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस महासमिति सदस्य ईश्वरी दत्त भट्ट, केदारश्वर माविका प्र.अ हरिश बहादुर चन्द, धर्मघर माविका प्र.अ लोकराज जोशी, दुर्गास्थान स्वास्थ्य चौकी प्रमुख टंक प्रसाद बाग लगायतको उपस्थित रहेको थियो ।
बिद्यालयले बार्षिकोत्सवको अवसर पारेर स्थापनाकाल देखि हालसम्म बिद्यालयलाई योगदान दिने तथा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको थियो । बर्षिकोत्सवको अवसरमा गत शुक्रबार खुल्ला भलिबल प्रतियोगिताको समेत आयोजना गरि प्रथम, द्वितिय र तृतीय हुने टिमलाई नगद पुरस्कार समेत प्रदान गरेको हो ।



