

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाका प्राबिधिक कर्मचारी केशव बहादुर ऐर माथि ज्यान मार्ने किसिमले प्रहार गर्ने उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले माफी मागेका छन् ।
सोमबार वडा नं. १ मा संचालन हुने चिस्यान केन्द्र स्थापना र हाट बजार प्रबर्द्धनका लागि पुर्वाधार निर्माण योजना स्थलमा खटिएका प्राबिधिक ऐरमाथी हातपात गर्नुका साथै पुर्वाधार शाखा प्रमुख जगदीश बहादुर भण्डारी, सव ईन्जिनियरहरु चक्र बहादुर गुर्धामी र राकेश बमलाई अभद्र गालिगलौच समेत गरेपछि नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

बुधबार कर्मचारी, जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा उपभोक्ता समिति अध्यक्ष गडालले गल्ती स्वीकार गर्दै सार्वजनिकरुपमा माफी मागेपछि एक पटकलाई माफी दिएको प्राविधिक ऐरले बताए । उनले आयन्दा गल्ती नदोहोर्याउने लिखित सहमति गरी माफी मागेपछि सहमति भएको हो ।
कर्मचारीहरुले नगरपालिकासंग पाँच बुदे माग राख्दै आन्दोलनमा उत्रिएका थिए । जीउ ज्यानको सुरक्षा, निजलाई उपभोक्ता समितिको जिम्मेवारीबाट हटाउनु पर्ने, सार्वजनिकरुपमा गल्ती स्वीकार गर्नुपर्ने, उपभोक्ता समितिमा कहिलै बस्न नपाउने लगायतका माग राख्दै नगरपालिकाबाट प्रवाह हुने सेवा ठप्प पारेका थिए ।
माग राखेका बुदाहरुमाथी आवश्यक छलफल भई लिखित सहमति भएको हो । सहमतिपछि भोलि सार्वजनिक बिदा परेकाले १९ गतेबाट नियमित काममा फर्किने नगरपालिका कर्मचारीहरुले बताएका छन् ।



