

बैतडी : नेपाल पत्रकार महासंघ बैतडीले बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा कैदीबन्दीहरुलाई पुस्तक वितरण गरेको छ ।
शनिबार बैतडी कारागारमा एक कार्यक्रमका बीच कैदीबन्दीलाई विभिन्न ज्ञानगुनमा आधारित पुस्तकहरु वितरण गरिएको पत्रकार महासंघ बैतडीका अध्यक्ष नरि बडूले जानकारी दिनुभयो ।

भागवत गीता, चारओटै वेदको नेपाली सारांश, चाणक्य नीति लगायतका धार्मिक ग्रन्थ, ज्ञानवर्धक उपन्यास लगायत दर्जन बढी जिवनी समेटिएका पुस्तकहरु वितरण गरिएका उनले बताए ।
जेल जीवन बिताउदा जीवन सुधार्ने अवसर प्रदान गर्ने, समयको सदुपयोग, आत्मविकास जगाउने, अपराधबाट टाढा रहन र मानसिक सन्तुलन कायम राख्न मद्दत पुगोस भन्ने हेतुले पुस्तक वितरण गरिएको पत्रकार महासंघले जनाएको छ ।
कैदीबन्दीहरुलाई सरोकारवालाहरुसंग समस्या राख्ने अवसर समेत प्रदान गरिएको थियो । क्षमताभन्दा बढी कैदीबन्दीहरु हुदा अप्ठ्यारो हुने गरेको बताएका थिए । २५ जना अटाउने कारागारमा ७३ जना कैदीबन्दीहरु रहेका छन् । गर्मी समयमा पंखाको ब्यवस्था भए केही सहज हुने उनीहरुको माग थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बैतडीका पदाधिकारी, संविधान सभा सदस्य नरेन्द्र कुँवर, प्रमुख जिल्ला अधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्द, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थी लगायत सुरक्षा निकायका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



