


बैतडी : बैतडीको खोड्पे बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले शनिवार यहाँको पाटन नगरपालिका–८ स्थित खोडपे बजारका पसलहरुमा अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र पाटन नगरपालिका सहितको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दुई पसललाई जरिवाना गरिएको गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत बिनोद भट्टराईले जानकारी दिए । मापदण्ड बिपरीत सञ्चालनमा रहेको ति पसलहरुलाई पाँच ÷पाँच हजार जरिवाना गरिएको उनले बताए ।
“एउटा पसलले खाद्य र अखाद्य सामग्री एउटैमा राखेर बिक्री गरेकोे भेटियो । अर्कोमा स्वीट तथा रेष्टुरेन्टका लागि अनुमती लिएको भएपनि मदिरा पनि बिक्री गरेको अनुगमनमा देखीयो” उनले भने “त्यसकारण दुबै पसललाई पाँच÷पाँच हजार जरिवाना गरिएको छ ।”
यस्तै अनुगमनका क्रममा ४ हजार बढीका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि नष्ट गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउँदका अनुसार ४ हजार ६३० रुपैंया बराबरका म्याद गुज्रेका अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको हो ।
जिल्लामा पछिल्लो समय अखाद्य बस्तुहरुको विक्री वितरण कमी आएको छ । व्यवसायि तथा उपभोक्ताहरु दुवै सचेत बन्दै गएकाले यसमा सुधार आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए ।



