

बैतडी : बैतडीको मेलौली नगरपालिकाले ५३ करोड १३ लाख ५० हजारको बजेट पारित गरेको छ । उपप्रमुख, वडा अध्यक्ष तथा केही सदस्यहरुको असन्तुष्टिका बीच बुधबार २०८२/८३ को पहिलो नगरसभा अधिवेशनमा आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरिएको बजेट नगरसभाबाट पारित गरिएको हो ।
नगर उपप्रमुख पार्वती बोहरा “बिष्ट”ले बजेटका बिषयमा असन्तुष्टि जनाएपछि नगरप्रमुख भीम बहादुर चन्दले बजेट प्रस्तुत गरेका थिए । उपप्रमुख विष्टले दफाबार छ्लफल नै नगरी बजेट ल्याएकाले मेरो असहमति रहेको बताए । “साना योजनाले जनतालाई दुख दिनु भन्दा देखिने गौरबका योजना ल्याउनुपर्छ भन्ने मेरो धारणा हो” उहाँले भन्नुभयो ।

नगर प्रमुख भिम बहादुर चन्द “भुकम्प” ले कार्यपालिकामा उपस्थित भएर छलफलमा सहभागी नभए नगर प्रमुख हात बाधेर नबस्ने बताए । उनले कार्यापालिकामा हाजिर भएपछि छलफलमा सहभागी हुनुपर्ने सबै कार्यपालिका सदस्यहरुको दायित्व भएको बताए । नगरसभाबाट बजेट पारित भएपछि नगर प्रमुख चन्दले असन्तुष्ट भएका बिषयमा छलफल गरेर जान सकिने बताए ।
वडा नं. ६ का वडा अध्यक्ष तारा दत्त भट्ट बजेटमा असन्तुष्टि जनाउदै नगरसभाबाट बाहिरिएका थिए भने मेलौली वडा नं. ९ का अध्यक्ष लोकराज भट्ट नगरसभामा अनुपस्थित थिए ।



