

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. २ स्थित गेरडा शिवधाममा बिरुडा तथा अठेवाली सम्बन्धि सगुन, फाग कार्यक्रम गरिएको छ ।

शनिबार शिवधामको सभाहलमा “लोक तथा स्थानिय संस्कृतिको ज्ञान, नयाँ पुस्तालाई अग्रजहरुको आवह्वान” भन्ने नाराका साथ गेरडा शिवधाम व्यवस्थापन समितिको आयोजना तथा मेलौली वडा नं. २ को सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको गेरडा शिवधाम व्यवस्थापक विवेकानन्द पाण्डेय बताए । धर्म संस्कृति लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागि कार्यक्रमको आयोजना गरिएको गेरडा शिवधाम व्यवस्थापक पाण्डेयले बताए । “कुनै पनि शुभकार्यमा मंगल गान अनिवार्य हुने बताउदै धर्म संस्कृतिमा मान्छेलाई ईमान्दार बनाउन, असत्यबाट सत्य तर्फ लैजान र सदाचारी बनाउन सगुन, फाग लगायतका मंगलगानहरुले महत्वपुर्ण भुमिका खेन्छन,” उनले भने ।


लोक तथा स्थानिय कला संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको मेलौली २ का वडा अध्यक्ष कृष्ण भट्टले बताए । अहिले सासु र बुहारी बिच दुरी रहेको र त्यसले हाम्रो संस्कृति लोप हुने अवस्थामा पुगेको उनले बताए । पुरानो पुस्ताबाट नया पुस्तालाई हराउदै गएको संस्कृति हस्तान्तरणमा सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समेत अध्यक्ष भट्टको भनाई थियो ।

कार्यक्रममा उपस्थित सगुन फाग गाउने ६ वटा टोलीलाई सम्मान सहित नगद समेत प्रदान गरिएको थियो ।

गेरडा शिवधाम व्यवस्थापन समितीका सचिव नरी दत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलौली २ का वडा सदस्य केशव दत्त भट्ट, शेर बहादुर चन्द, हर्ष बहादुर चन्द, आचार्य देव दत्त ओझा, राष्ट्रिय मावि फाटिगडा सुर्नया ४ का प्रधानाध्यापक माधव विष्ट लगायत थुप्रै महिला सगुनाराहरुको उपस्थिति रहेको थियो ।



