


बैतडी : वर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको आरोप लगाउदै बैतडीमा स्थानीयहरुले सडक अबरुद्ध पारेका छन् । आज दिउँसो १२ बजेदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका हुन् ।
जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको गएराती मृत्यु भएको थियो । यस घटनाको निस्पक्ष छानबिन हुनुपर्ने र क्षतिपुर्तीको मागसहित सडक अबरुद्ध पारिएको स्थानीय ध्रुव रानाले जानकारी दिए ।
बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो ।
त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती र्याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा नं २ का वडा अध्यक्ष नवराज घरडी र वडा नं ३ का वडा अध्यक्ष रघुबिर बोहरासहितको सडक अबरुद्ध पारिएको स्थानमा पुगेका छन् । स्थानीयहरुसँग छलफल भइरहेको बताइएको छ ।



