

बैतडी : कर्मचारी माथि हातपात भएको भन्दै बैतडीको पुर्चौडी नगरपालिकाका कर्मचारीले अनिश्चितकालका लागि नगरपालिकाबाट प्रवाह हुने सेवा ठप्प पारेका छन ।
नगरपालिकाको वडा नं. १ मा संचालन हुने कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र स्थापना तथा स्थानिय हाट बजार प्रबद्र्धनका लागि पुर्वाधार योजना निर्माण स्थलमा हिजो नगरपालिकाका प्राविधिक कर्मचारी केशव बहादुर ऐरमाथि हातपात गरेको भन्दै सेवा प्रवाह ठप्प पारेको हो । सोही उपभोक्ता समिति अध्यक्ष बिर बहादुर बडालले हातपात तथा अन्य कर्मचारी माथि गालीगलौच गरेको भन्दै नगरपालिकाका कर्मचारीहरुले सामुहिक प्रेस विज्ञप्ती निकाल्दै सेवा प्रवाह ठप्प पारेका हुन् ।

फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट हुनु जघन्य अपराध भएको भन्दै कर्मचारीहरुले गम्भीर आपत्ती जनाएको छ । फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि हातपात हुनु अशोभनीय, निन्दनीय र अराजकताको पराकाष्ठा हो बिज्ञप्तीमा भनिएको छ ।
प्राविधिक कर्मचारी ऐरले आफूमाथि भएको हातपातको बिषयमा कानुनी प्रक्रियामा जाने बताएका छन् । “हामीले काम गर्दा ज्यानको सुरक्षा भएन भने हामीले कसरी काम गर्ने” उहाँले भन्नुभयो । आफूहरुमाथि भएको अन्यायको लागि प्रहरीमा समेत निवेदन दिएको उनले बताए । हातपात तथा गालीगलौच गरेका गडाललाई उपभोक्ता समितिबाटै हटाउनु पर्ने र सार्वजनिक रुपमा गल्ती स्वीकार गरी माफि मागे मात्रै नियमित काममा फर्किने ऐरले बताए ।
वडा नं. १ का वडा अध्यक्ष गणेश गडालले भने बिना कुनै बिवाद सामान्य हात हालाहाल मात्रै भएको बताएका छन् । म आफै पनि प्रत्यक्ष घटनास्थलमा रहेको भन्दै अध्यक्ष गडालले सामान्य बिषयलाई छलफलबाटै सामाधान गर्न सकिने बताएका छन् । उपभोक्ता समिति अध्यक्ष गडालले आफूले गरेको गल्ती स्वीकार गरेको र कानुनी प्रक्रिया लागि पनि बाटो खुला रहेको वडा अध्यक्ष गडालले बताए ।



