

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुबिनायक घाटबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म बैतडीबाट खटिएको टोलीले चेकजाँचका क्रममा बोलेरो पिकअप र ट्र्याक्टरमा लोड गरिएको अवैध सामान नियन्त्रणमा लिएको हो। उक्त सामान भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक जंग बहादुर कुँवरले जानकारी दिए ।
बरामद गरिएका दुवै सवारी साधनसहितको किराना सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाटमा बुझाइएको जनाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।
साथै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको पनि जनाएको छ।



