

हरिसिंह साउद/ पुर्चौडी सम्बादाता
बैतडी : बैतडीमा काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ । बुधबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ९ बथ्थोला बस्ने बुवा राम बहादुर भण्डारी र आमा गंगा भण्डारीकी १४ बर्षिया छोरी सिमा भण्डारीको घटनास्थल मै मृत्यु भएको हो ।

घर नजिकको जङ्गलमा साथीहरूसंग काफल खान गएकी भण्डारीको बिहान करिब साढे दश बजे लडेर मृत्यु भएको स्थानिय नर बहादुर भण्डारीले बताए । लडेपछि संगै रहेका साथीहरुले घरमा जानकारी गराएका थिए ।
उनी खेती माध्यमिक बिद्यालय तल्लादेहीमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिईन । उनको मृत्यु पछि गाउँ नै शोकमा डुबेको छ । उनको घरमा एक बहिनी र एक भाई छन् ।



