

बैतडी सहित सुदुरपश्चिममा नरहरि पर्वको रौनक सुरु भएको छ । माघ १ गते अर्थात आज सुदुरपश्चिमका विभिन्न जिल्ला लगायत बैतडीमा नरहरि पर्व मनाउने चलन रहिआएको छ।
माघ १ गतेलाई सुदुरपश्चिममा नरहरि, कौव्वा माणो दिनयाँइ सकराँत, र माघी समेत भन्ने प्रचलन छ ।

सूर्य मकर राशिमा र उत्तरी गोलार्धमा प्रवेश गर्ने हुनाले आजको दिनलाई मकर सङ्क्रान्ति तथा उत्तरायणको सुरुवात भएको मानिन्छ। साउन सङ्क्रान्तिबाट सुतेका देवताहरू पनि अब ब्युझिने हुनाले धर्मकर्मको लागि उपयुक्त समय मान्ने गरिएको छ। आजदेखि गृहप्रवेश, ब्रतबन्ध आदि शुभकार्य गर्न खुला हुने संस्कृतिका अध्येता प्रकाश पैतोलाले बताउनुभयो ।
पुस मसान्तको राती सबैभन्दा पहिले कागका लागि चामलरोटी (माणा) तरुल, सखरखण्ड लगायतका कन्दमुल पकाएर राख्ने चलन छ । बिहान उठेर यसरी कागका लागि पकाएर राखेका परिकार नुहाएर घरको छतमा राखि कागलाई दिने गरिन्छ ।
आजको दिन बैतडीका स्वर्गेनी पीपलधाम पाटन, पञ्चेश्वर, (गङ्नान), पत्ताल भुवनेश्वर, ईश्वरी गाड लगायत अन्य तीर्थस्थलमा स्नान गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।
सुदुरपश्चिममा आजको दिनसम्म काँक्रो बँचाइ राखेमा मह लगाइ काँक्रो बाँडे धर्म हुने विश्वासले गाउँभरी काँक्रो (माघी काँकड़ी) बाँड्ने चलन समेत रहेको संस्कृतिका अध्येता प्रकाश पैंतोलाले बताए ।
तरुल, सखरखण्ड, तिलगुड लगायतका मिठा परिकार खाएर मनाइने यस पर्वमा छोरी चेली पनि माइतीघर आउने गरेका छन् ।



