

बैतडी: बैतडीमा सम्पन्न तेस्रो संस्करणको मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताकाे उपाधि दशरथचन्द नगरपालिकाले जितेकाे छ।
गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा साविक विजेता मैलाली नगरपालिकालाई ३-१ काे सेटमा पराजित गर्दै दशरथचन्द च्याम्पियन बन्याे।
च्याम्पियन भएसंगै दशरथचन्दले १ लाख २५ हजार पुरस्कार पाएकाे आयाेजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनाेदबहादुर चन्दले बताउनुभयो । पराजित मेलाैलीले ७५ हजारमा चित्त बुझायाे।
फाइनल खेलमा सुरूका दुई सेट दशरथचन्दले जितेकाे थियाे । पहिलाे सेट २६-२४, दाेस्राे २५-२१ ले हात पार्याे। तेस्रो सेट मेलाैलीले २५-१८ ले जित्याे ।
चाैथाे सेट पुन: दशरथचन्दले २५-२३ ले आफ्नाे पक्षमा पार्दै च्याम्पियन बनेकाे रेफ्री संयाेजक हरि भण्डारीले जानकारी दिनुभयाे।
दशरथचन्दले उपाधिसंगै यसअघि गत संस्करणमा फाइनलमा मेलाैलीसंग हारेकाे बदला समेत लिएकाे छ।
यस्तै प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्राे स्थान हासिल गरेकाे छ। सुर्नयाले ३५ हजार पुरस्कार पायाे।

सान्त्वना स्थानमा चित्त बुझाएकाे सिगास गाउँपालिकाले १५ हजार पुरस्कार पायाे।
दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वाेत्कृट खेलाडी भए। उनले ५ हजार पुरस्कार जिते।
मेलाैलीका सन्देश चन्द बेस्ट सटर, दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर,दशरथचन्दकै सराेज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलाैलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर चुनिए।
दाेगडाकेदारकाे टिम अनुशासित घाेषणा भयाे।
खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख,प्रहरी नायव महानिरिक्षक गणेश चन्द,प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,मैनेजर तेजबहादुर चन्द ट्रष्टका अध्यक्ष ईन्जिनियर ग्रिस चन्दलगायतले पुरस्कार वितरण गर्नुभयाे।
समापन समाराेहमा बाेल्दै प्रहरी नायव महानिरिक्षक चन्द ग्रामिण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलकुदकाे विकासमा टेवा पुग्ने बताउनुभयो ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा फागुन १५ गतेदेखि सुरू भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे थियोे ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।



