

बैतडी : बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापा र जिल्लाका पत्रकारहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी थापाले माघ १५ गते मात्र जिम्मेवारी सम्हालेका थिए ।

कार्यक्रममा पत्रकारहरूले नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका विभिन्न समस्या प्रस्तुत गरेका थिए ।
पत्रकारहरूले सेवा प्रवाह लगायत जिल्लामा भए गरेका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा पत्रकारहरूले नागरिकता, ग्रामिण सडकमा मनपरि भाडा असुल्ने, लगायत सुचना आदानप्रदानका विषय उठाएका थिए।
प्रमुख जिल्ला अधिकारी थापाले पत्रकारहरूले उठाएका विषय गम्भीर र महत्त्वपूर्ण रहेको भन्दै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने बताए ।
साथै आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै प्रमुख जिल्ला अधिकारीले मतदाता भ्रममा नपरोस् भन्ने उद्देश्यले सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाहमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए। निर्वाचनलाई शान्त, निष्पक्ष र मर्यादित बनाउन प्रशासन र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।



