

बैतडी, फागुन ७ : कोटेश्वर आधारभूत विद्यालयको ४२औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बैतडीको मेलौली नगरपालिका २ स्थित कपर्तमा रहेको उक्त विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित बार्षिकोत्सव सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक धनिराम विकले बताए ।
कार्यक्रममा कपडा बैंक साहिलेक बैतडीका संयोजक महेश भट्टले २५ जना आर्थिक अवस्था कमजोर भएका तथा पढाईमा उत्कृष्ट विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेका थिए ।

बिहीबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेलौली वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले विद्यालयको सर्वाङ्गीण विकासका लागि शुभकामना दिदै नगरपालिकाबाट हुने सहयोगका लागि आफु तयार रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराम ओडको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक धनिराम विकले ३८ लाख ३३ हजार बराबरको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक विकले विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार विकास तथा अतिरिक्त क्रियाकलापमा भएको उपलब्धि तथा आवश्यकताका बारेमा जानकारी गराउनुभयो।
यसै गरि १० जना विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । स्वास्थ्य कर्मी, शिक्षक, राष्ट्रसेवक कर्मचारी तथा अभिभावकमध्ये आ-आफ्नो क्षेत्रबाट विद्यालयलाई योगदान दिने १० जनालाई सम्मान गरिएको शिक्षक दिपेन्द्र ओडले जानकारी दिए ।
सोही अवसरमा फागुन २ र ३ गते आधारभूत तह (६-८) छात्र/ छात्रा खुल्ला भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम द्वितिय र तृतीय हुने टीमलाई नगद सहित प्रमाण पत्र पनि प्रदान गरिएको शिक्षक ओडले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।



