

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् ।
बेंगलुरु र हैदराबादबीचको खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । बेंगलुरुको कप्तान रजत पाटिदार छन् भने हैदराबादको निमित्त कप्तानमा इशान किशन छन्।

नियमित कप्तान प्याट कमिन्स ढाडको चोटबाट रिकभर गरिरहेकाले सुरुवाती केही खेलका लागि उपलब्ध छैनन् । त्यसकारण किशनले कप्तानी गर्ने भएका छन् ।
प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन् । यी खेलहरु विभिन्न १० मैदानमा खेलाइनेछ । त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म ५० खेल आयोजना गरिनेछन् ।
यी खेलहरू भारतका १२ वटा विभिन्न शहरमा हुनेछन्, जसमा बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढ समावेश छन् ।



