

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षिय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दोगडाकेदार ८ कै ४२ वर्षीय स्याल भनेर चिनिने कर्णबहादुर बिष्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कर्णबहादुरले प्रयोग गरेको भरुवा बन्दुक, गोली, मोवाइल लगायतका सामानसहित सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

कर्णले सुरेन्द्रलाई ४० हजार रुपैयाँ दिनुपर्ने थियो । फागुन १७ गतेदिउँसो दुबै जनाबिच लेनदेनकै बिषयमा हातपात समेत भएको थियो ।
सोही दिन राति ८ः३० बजेको समयमा खाना खाइरहेका बेला गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेको उहाँले जानकारी दिनुभयो ।
गोली प्रहारबाट घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । फागुन २५ गते दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाइछिपाइ गरेको अवस्था झोला फेला परेको थियो । सोही ठाउँमा मंगलबार उनले हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री समेत फेला परेका प्रहरीले जनाएको छ ।



