

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. २ मा हानिकारक प्रचलन अन्त्यका लागि अन्तरपुस्ता सम्बाद कार्यक्रम सम्पन्न भएको छ । मेलौली नगरपालिका वडा नं. २ को आयोजनामा सलेना स्वास्थ्य चौकीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मंगलबार मात्रै बालविवाह तथा हानिकारक प्रचलन अन्त्यका लागि वडा नं. २ अन्तर्गतका बिद्यालयका किशोर किशोरीहरुसंग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
हानिकारक सामाजिक प्रचलनहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने उद्देश्यले अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कृष्ण दत्त भट्टले बताए ।

समाजलाई कसरी रुपान्तरण गर्ने र समाजका कुरीति र गलत अभ्यासहरुलाई न्यूनीकरण गर्न हाम्रो भुमिका कस्तो हुने भन्ने विषयमा गहन छलफल भएको वडा अध्यक्ष भट्टले बताए।
बालविवाह, छाउपडी प्रथा, लैङ्गिक विभेद, घरेलु हिंसा जस्ता सामाजिक कुरीतिहरूले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा विस्तृत छलफल गरिएको थियो।
परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बाल विवाह तथा समाजमा रहेका अन्य हानिकारक प्रचलनका बारेमा धेरैलाई थाहा हुदाहुदै पनि नेतृत्व लिन नचाहने गरेको उनले बताइन् । समस्याको बारेमा जानकारी हुँदा पनि आवाज उठाउन नचाहने प्रवृत्तिले समाज पछाडि परेको उनको भनाई थियो।
कार्यक्रममा जनप्रतिनिधि स्थानीय धार्मिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी,अभिभावक, किशोर किशोरी प्रहरी लगायतको उपस्थिति रहेको थियो ।




