

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा खटाइएकी प्रमुख प्रशाकीय अधिकृतको कार्यालयमा हाजिर नहुँदै सरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ २६ गते सुर्नयामा प्रमुख प्रशाकीय अधिकृतको रुपमा ज्योतीकुमारी बोहरालाई खटाएको थियो । तर उनको कार्यालयमा हाजिर नहुँदै सरुवा भएको हो ।
गएको भदौ २६ गतेका दिन एक सय शाखा अधिकृतहरुलाई देशका विभिन्न गाउँपालिकामा मन्त्रालयले पदस्थापन गरेको थियो । सोही दिन बोहरालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको थियो ।

पदस्थापन गरेको भोलिपल्ट अर्थात भदौ २७ मै मन्त्रालयले बोहराको सरुवा गरेको पाइएको छ । कार्यालयमा हाजिर नहुँदै बोहराको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा उल्लेख गरिएको छ ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरुमा बाधा हुँदै आएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । यस्तै अवस्थामा रहेमा कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या हुने उनले बताए ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको गएको भदौ ७ गते सरुवा भएको थियो । सुर्नयाबाट रोकाको डडेल्धुराको भागेश्वर गाउँपालिकामा सरुवा भएको हो ।
गत भदौ २६ गते संघिय मामिला तथा सामान्य मन्त्रालय प्रशासन मन्त्रालयले सुर्नयामा बोहरा, पञ्चेश्वरमा महेश पार्की र शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई खटाएको थियो ।



