

बैतडी : बैतडीको पाटन नगरपालिकाका नगर शिक्षक स्वयंसेवकहरूले विभिन्न ९ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पोसाक भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले आइतबार नगर प्रमुख गौरीसिंह रावलसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझाउँदै नगर शिक्षक स्वयंसेवक समितिका अध्यक्ष राजेन्द्र विष्टले विद्यालयमा नगर शिक्षक स्वयंसेवकहरूले खेल्दै आएको भूमिकालाई कमजोर नठान्न आग्रह गरे। पठनपाठनमा अन्य शिक्षकको तुलनामा आफूहरूको भूमिका कमजोर नरहेको भन्दै उनले पारिश्रमिकको हकमा नगर शिक्षक स्वयंसेवकमाथि विभेद भएको गुनासो गरे।
नगर शिक्षक स्वयंसेवक शिक्षकलाई पनि अभिलेखीकरण गरी केन्द्रस्तरमा तथ्यांक पठाउनुपर्ने शिक्षक हरिप्रसाद भट्टले बताए। देशभर विभिन्न प्रकारका शिक्षक रहे पनि पालिका शिक्षकको स्पष्ट अभिलेख नरहेको भन्दै उनले नगर शिक्षक स्वयंसेवकको विवरणसमेत केन्द्रमा पठाएर आफूहरूको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए।

उनले ‘नगर शिक्षक’ भनिँदै आएको पदलाई ‘नगर अनुदान शिक्षक’ नामकरण गर्नुपर्ने मागसमेत राखे।
नगर शिक्षक गोबिन्द प्रसाद पन्तले आफुहरुले कुनै राजनितिक पूर्वाग्रह नराखी विसुद्द शिक्षकको हकहितका लागि भएको बताउदै निस्संदेह नगरपालिकाले शिक्षकको हितमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख गौरीसिंह रावलले नगरपालिकाले चालु आर्थिक वर्षमा नगर शिक्षक स्वयंसेवकको पारिश्रमिकमा २ हजार ५ सय रुपैयाँ वृद्धि गरेको बताए। सम्भव भएसम्म कार्यपालिका र नगरसभामा सहमति जुटाएर थप पारिश्रमिक वृद्धि गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाए।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष हरिश विष्टले नगर शिक्षक स्वयंसेवकका मागका विषयमा कार्यपालिकामा छलफल गरी सम्बोधन गर्न सकारात्मक पहल गर्ने बताए ।




