

बैतडी : बैतडीको पाटनमा कार्तिक ८ गतेदेखि सुरु हुने उदयदेव–पाटन प्रिमियर लिग (UPPL)को छैटौँ संस्करणमा सहभागी टिमहरूले खेलाडी परिवर्तन तथा टिम दर्तासम्बन्धी सम्पूर्ण कागजात बुझाउनुपर्ने समयसीमा तोकिएको छ।
कुनै कारणवश खेलाडी प्रतियोगितामा उपस्थित हुन नसक्ने अवस्था आएमा सम्बन्धित टिमले वैकल्पिक खेलाडी राख्न सक्नेछन्। तर, एउटा टिमले बढीमा तीन जना खेलाडी मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ।

खेलाडी परिवर्तनका लागि आवश्यक फारम २०८३ साल कार्तिक ५ गते साँझ ५ बजेभित्र भरी आयोजकको ह्वाट्सएप नम्बरमा पठाउन वा आयोजकलाई प्रत्यक्ष उपलब्ध गराउनुपर्ने आयोजक पाटन एकता समाजका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।
त्यसैगरी, टिम दर्तासम्बन्धी तोकिएका सम्पूर्ण कागजात पनि सोही मिति र समयभित्र आयोजकसमक्ष बुझाउनुपर्ने अध्यक्ष चन्दले बताउनुभयो ।
तोकिएको समयभित्र तोकिएको फारम तथा कागजात नबुझाउने टिमलाई प्रतियोगिताको टाइसिट/प्रतियोगितामा समावेश नगरिने आयोजकले जनाएको छ। त्यसैले प्रतियोगितामा सहभागी हुने सबै टिमलाई निर्धारित समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।




