

बैतडी : बैतडीको मेलौलीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले मेलौली नगरकमिटिको आयोजना तथा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता, नेकपा एमाले बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्ट, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, नेकपा जिल्ला कमिटि अध्यक्ष नरेश विक लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा चाँडपर्व विशेष तीनदिने शुभकामना आदानप्रदान कार्यक्रम शनिबार मेलौलीमा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य जगदिश सिंह नायकले जानकारी दिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हामीले धेरै पटक कोरोना महामारी, भुकम्प र बाढीपहिरो जस्ता बिपत्तीहरुसंग सामना गर्नपरेको र त्यसले गर्दा नेपालको अर्थतन्त्र माथी उठ्न नसकेको बताउनुभयो । अर्थतन्त्रलाई माथि उठाउने प्रयत्न गर्दागर्दै पनि बिपत्तीले चुनौती थपिएको बताउनुभयो । यसैबिच बिपत्तीसंग जुधिरहेका बेला जनतामा सरकारले केही गर्न नसकेको भन्ने गलत प्रचार गर्न खोजिएको आरोप समेत लगाउनुभयो । अहिलेका चुनौतीहरुलाई सम्भावनामा बदल्न अहिलेको सरकार लागि परेको समेत मन्त्री भण्डारीले बताउनुभयो । स्थानिय, प्रदेश, तथा संघ सरकारबाट थुप्रै किसिमका योजनाहरुमा बजेट बिनियोजन भए पनि त्यसले परिणाम दिन नसकेको बताउनुभयो । अबको बजेट उत्पादन बृद्धि गर्ने ब्यवसाय बढाउने गरि र रोजगारी सृजना गर्ने गरि आयो भने त्यसले परिणाम दिने उनले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ सोचमा आधारित स्टार्टअफ कार्यक्रम अन्तर्गत ३ प्रतिशत ब्याजमा २५ लाख ऋण दिईरहेको समेत मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले बैतडीको सन्दर्भमा अहिलेसम्मकै ऐतिहासिक बजेट आएको र यसमा गर्ब गर्नपर्ने बताए ।
यसैबिच नेकपा एमाले मेलौली नगरकमिटिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालसंग बिभिन्न किसिमका मागहरु राख्दै ज्ञापनपत्र समेत बुझाएको जिल्ला कमिटि सचिवालय सदस्य नायकले जानकारी दिए । ज्ञापनपत्रमा पाटन—पञ्चेश्वर सडक अन्तर्गत पर्ने जेरो पोइन्ट देखि लोर्खासम्मको सडक स्तरोन्नती गर्नपर्ने, औद्योगिक ग्राम स्थापनाका लागि पहल गर्नुगर्ने, उग्रतारा मेलौली सडकखण्ड बैतडीबाट सुर्नयासम्म तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको र त्यसका लागि पहल गर्नुपर्ने, मेलौली नगरपालिकामा निर्माण अधुरोमै रोकिएको ३३ केबी विद्युत् सबस्टेशनको निर्माण कार्य गर्नपर्ने, मणिलेक बहुमुखी क्याम्पसलाई स्नातकोत्तर तह संचालनका लागि पहल गर्नुपर्ने,ईलाका प्रहरी कार्यालय स्तरोन्नती गर्नुपर्ने,मेलौलीमा ईलाका प्रशासनको माग,सुर्नया गाड चौथो लघु जलविधुत योजनालाई राष्ट्रिय प्रशारण लाईनमा ग्रिड कनेक्सनका लागी माग लगायत तल्लो स्वराड क्षेत्रका विकास निर्माणका वारेमा मागपत्र पेश गरेको जिल्ला कमिटि सचिवालय सदस्य नायकले जानकारी दिनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रम आइतबार २८ गते पुर्चौडीमा र २९ गते सोमबार दशरथचन्द नगरपालिकामा हुने मन्त्री भण्डारीले जानकारी दिनुभयो ।





