


चाडपर्व बिशेष शुभकामना आदानप्रदान कार्यक्रमको दोस्रो दिन आज नेकपा एमाले पुर्चौडी नगरकमिटिको आयोजनामा पुर्चौडीमा सम्पन्न भएको छ । संघिय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ,नेकपा एमाले बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।
चाडपर्वलाई लक्षित गर्दै जनता तथा कार्यकर्ताहरुका समस्या, गुनासा तथा आलोचनाहरु सुन्ने र समस्या समाधानका लागि पहल गर्ने गरि कार्यक्रमको आयोजना गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी जानकारी दिनुभयो । सोही क्रमको निरन्तरता स्वरुप सोमबार पुर्चौडीमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले पुर्चौडीको समग्र बिकासका लागि यहाँका स्लेट खानी, खनिज पदार्थ जडिबुटी र कृषि बस्तुहरुको निर्यात बढाउनु पर्ने बताउनुभयो । फलाम खानीको अध्ययन गर्न बिज्ञ टोली बोलाउन तयार रहेको पनि बताउनुभयो । लामुनि पहिरोमा कृस्टल सिसाहरु देखेको र त्यसको अध्ययनका लागि खानी बिभागको टोली आउने जानकारी दिनुभयो । ” कृस्टल बढी मात्रामा रहेको कुरा पुष्टि हुन्छ भने, त्यसको अध्ययन गरि खानी संचालन गर्न सकिन्छ ” उहाँले भन्नु भयो ।

अबको बजेट उत्पादन मुखि क्षेत्रमा गर्नुपर्ने उहाँले जोड दिनुभयो । बिना अध्ययन गरि खनिएका सडक तथा संरचनाहरुले बिपत्ति निम्त्याएको र त्यस तर्फ सचेत रहन आग्रह समेत गर्नु भयो । टुक्रे योजनाहरुले बिकास र रोजगारी सृजना गर्न नसक्ने अबको बजेट परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।



