

बैतडी : बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पुर्णिमाका दिन लाग्ने मेला कात्र्तिक २९ र ३० गते लाग्ने भएकोछ । मेलौली नगरपालिका वडा नंं १ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यस बर्ष कार्तिक २९ गते रतेडी र कार्तिक ३० गते दिउसेडी मेला लाग्ने मेलौली धार्मिक ब्यवस्थापन समितिका अध्यक्ष जगदिश सिंह नायकले जानकारी दिनुभयो ।
बलि सहितको जात्रा लाग्ने मेलामा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट दर्शनार्थीहरु दर्शन आउने गर्दछन् ।

बैतडीको तल्लो स्वराडका तीन स्थानिय तहका गरि दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकाबाट दर्शन गर्न आउने गर्दछन । डडेल्धुराको भागेश्वर, नवदुर्गा, अजयमेरुबाट र कैलाली, कञ्चनपुर,र बर्दियाबाट दर्शनार्थीहरु दर्शन गर्र्न आउने गर्दछन् । नेपालका मात्र नभइ भारतका देहरादुन, उत्तराखण्ड, उत्तम सिंह नगर,बनबासा लगायतका क्षेत्रबाट समेत दर्शनार्थीहरु दर्शन गर्न आउने गरेका मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले जानकारी दिनुभयो ।
तल्लो स्वराड क्षेत्रका मानिसहरु रोजगारीको सिलसिलामा भारत लगायत विभिन्न मुलुकमा जानेगरेका छन् । रोजगारीका लागि अन्यत्र गएकाहरु पनि अन्य पर्वहरुलाई भन्दा बढी महत्व दिई जात्राको अवसरमा घर आउने गरेका छन् । मेलौली भगवती मन्दिरमा लाग्ने जात्रालाई भेटघाट हुने थलोको रुपमा पनि लिने गरिएको छ । बर्षभरि भेट्न नपाएका आफन्त, ईष्टमित्र, साथीभाईहरु सबैसंग भेटघाट हुने र शुख दुख आदानप्रदान गर्न सहज हुने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायक बताउँछन । आफन्त, ईष्टमित्र, साथीभाईहरुसंग भेट हुने भएकाले पनि यस क्षेत्रका मानिसहरु अन्य ठुल्ठुला पर्वभन्दा पनि बढी महत्व दिई जात्राको अवसरमा घर फर्किने गरेकाछन् ।
मेलालाई सभ्य, भब्य र शान्तीपुर्ण बातावरणमा सम्पन्न गर्न आवश्यक पहलका लागि छलफल भईरहेको मेलौली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण चन्दले जानकारी दिनुभयो ।



