

बैतडी:बैतडीको एक विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित बनेको छ । बैतडीको मेलौली नगरपालिका २ सलेना स्थित धर्मघर माविमा
दिनहुँ जसो छात्राहरु बेहोस हुन थालेपछि पठनपाठनमा समस्या आएको प्रधानाध्यापक लोकराज जोशीले जानकारी दिनुभयो । विद्यालयमा आएपछि छात्राहरु रुने, काप्ने,बेहोस हुने, कराउने हाम फाल्ने जस्ता समस्या देखिने गरेको बताइएकोछ । गत असोज दोस्रो सातादेखि सुरु भएको समस्या दुई महिना बितिसक्दा समेत पुर्णरुपमा निको हुन नसकेको प्रधानाध्यापक जोशीले जानकारी दिनुभयो । “तुलनात्मकरुपमा बिरामी हुने दर कम भएको छ, सुरु सुरुमा बिरामी भएका छात्राहरु क्रमश निको भई नयाँ नयाँ छात्राहरुमा लक्ष्यणहरु देखिरहेकाछन्” उहाँले भन्नुभयो ।
कुल विद्यार्थी संख्या ३ सय ७२ जना रहेको धर्मघर माविमा छात्रा २ सय जना छन् । ती मध्ये दैनिक ८÷१० जना छात्राहरुमा समस्या देखिने गरेको छ । कक्षा १० भन्दामुनिका विद्यार्थीहरुमा बढी समस्या देखिने गरेको छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली र जिल्ला अस्पतालबाट आएका मनोचिकित्सकको टोलीको परामर्शपछि केही कम भएपनि पुर्णरुपमा निको हुन सकेको छैन ।
करिब ११ बर्ष अघि पनि यस्तै समस्या आएको र अहिले सोही समस्या दोहोरीएको धर्मघर माविका शिक्षक खडक बहादुर चन्दले जानकारी दिनुभयो । सो समयमा मानसिक रोग विशेषज्ञको सल्लाहअनुसार अतिरिक्त क्रियाकलापमा जोड दिदा बिस्तारै निको भएको शिक्षक चन्दले बताए । बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र योग अभ्यास गराउने पनि जानकारी दिए ।
बेहोस हुने समस्या देखिएपनि विद्यालयमा विद्यार्थीको उपस्थितिमा भने कमी आएको छैन । आफ्ना बालबालिकालाई घरमा समेत अभिभावकले सम्झाईबुझाई गर्नुपर्नेमा अभिभावक समेत रहेका गणेश दमाईले जोड दिनुभयो ।
नगरपालिकाबाट एक हप्ते काउन्सीलिङ कार्यक्रम गर्ने कार्यपालिकाबाट निर्णय गरिएकाले धर्मघर माविमा लगत्तै मनोचिकित्सकबाट काउन्सीलिङ कार्यक्रम गरिने प्रमुख प्रशासकिय अधिकृत नारायण चन्दले जानकारी दिनुभयो ।
यस्तै मेलौलीको मणिलेक माविमा पनि सोही किसिमको समस्या देखिएको मेलौली नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख मनु कुमारी क्षेत्रीले जानकारी दिनुभयो । यसअघि मेलौलीका शीतलपुर मावि र विजयपुर माविमा समेत उक्त समस्याले पठनपाठन प्रभावित बनेको थियो ।
