

काठमाडौं : रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो ।
यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो ।

USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् । अहिलेसम्म न्यून क्षतिको मात्र रिपोर्ट आएको उनले जनाएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रहरूमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरिएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।
