

बैतडी : बैतडीको मेलौली नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने किसोरीहरुको संख्या दुई दिनमा एक हजार बढी पुगेको छ । माघ २७ गतेदेखि सुरु भएको खोप अभियानमा पालिकाले आईतबार र सोमबार गरि दुई दिनमा १ हजार २ किसोरीलाई खोप लगाएको मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

पालिका भरिका स्वास्थ्य संस्था र बिद्यालय गरि ३२ वटा खोप केन्द्र तोकिएका थिए । माघ २७ गते देखी ३० गतेसम्म चल्ने खोप अभियानमा दुई दिनमा लक्षित संख्याको ८४ प्रतिशत किसोरीहरुले खोप लगाएका सि.अ.हे.ब अधिकृत चन्दले बताए ।
बिद्यालय सेवा क्षेत्र भित्र रहेका कक्षा ६ देखि १० सम्म अध्ययनरत किसोरी र (१०-१४) उमेर समुहका किसोरीहरुले खोप लिरहेका हुन् । खोप अभियानमा किसोरीहरुको उत्साहजनक सहभागिता रहेको पालिकाले जनाएको छ ।
एक खोप केन्द्रमा एक स्वास्थ्य कर्मी र दुई जना स्वयंसेवक खटाएको सि.अ.हे.ब अधिकृत चन्दले बताउनुभयो ।



