

बैतडी : बैतडीमा पनि सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने माग राख्दै बैतडीमा सुन चाँदी व्यवसायीहरुले असार १३ गते देखि पसल बन्द गरेर सेवा ठप्प पारेका छन ।

सुन र सुनका गरगहनामा विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरहरूमा भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले सोमबार बैतडीको पाटन बजारमा बृहत् ऱ्याली तथा खबरदारी सभा गरेका छन् ।
सरकार आँखा खोल, सुनका गरगहनामा विलासिता भन्न मिल्दै, २ प्रतिशत कर र १३ प्रतिशत कर खारेज गर लगायतका मागसहितका नारा लगाउदै सुनचाँदी व्यवसायीहरुले ऱ्याली निकालेका हुन्।
व्यवस्थाले बजारमा मन्दी निम्त्याउने, उपभोक्तामा आर्थिक भार थपिने र अवैध कारोबारलाई प्रोत्साहन हुने बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश पौडेलले बताए । बैतडी सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी रत्न तथा आभुषणको संयुक्त आह्वानमा शान्तीपूर्ण ऱ्याली गरिरहेको उनले बताए ।
सरकारले व्यवसायी र उपभोक्ताको हित बिपरित भएको निर्णय यथाशीघ्र सच्याईनुपर्ने सुनचाँदी व्यवसायी संघ बैतडीका सचीव लक्षिराम लुहारले बताए ।
उनीहरुले हिरा-जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज हुनुपर्ने, सुनचाँदीको कारोबारलाई दिर्घकालीन रुपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरु निर्माण हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै, कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगार तथा बजारमा पर्ने दूरगामी प्रभावको विस्तृत अध्ययन गरी मात्रै करको दायरा बढाउनुपर्ने, छिमेकी मुलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम हुनुपर्ने पनि उनीहरुको माग छ ।



