


बैतडी : बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित डुङराकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार अप्रान्ह साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनको लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए ।
करेन्ट लागेर गम्भिर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ । सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको र सोही तारमा करेन्ट बहेर करेन्ट लागेको हुन सक्ने आँकलन गरिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



