

बैतडी : बाल विवाह न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यले सरोकारवाला निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। दलित समाज विकास मञ्च बैतडी को आयोजनामा धार्मिक व्यक्तित्व, राजनितीक दल तथा सरोकारवाला निकायसंग छलफल गरिएको दलित समाज विकास मञ्च बैतडीका सचिव बलभद्र दयालले जानकारी दिए ।
मंगलबार जिल्ला प्रशासन कार्यालय गढी बैतडीमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बाल विवाह समाजको गम्भीर समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए। उनले बालविवाहको हकमा कानुनी प्रक्रिया पनि समय अनुसार परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताए । उनले बैतडी देवभूमि भएकाले पनि सबै खाले विभेद अन्त्य हुनुपर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

अन्तरक्रियामा सहभागी धार्मिक अगुवाहरूले पनि समाजमा चेतना अभिवृद्धि गर्न आफूहरू सक्रिय रहने प्रतिबद्धता जनाएका थिए, भने राजनीतिक दलका प्रतिनिधिहरूले नीति निर्माणदेखि कार्यान्वयनसम्म अहिलेको सरकारले सहयोग गर्नुपर्ने बताएका थिए।
सुरक्षा निकायका प्रतिनिधिहरुले लागूऔषध सम्बन्धि जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाल विवाहका कारण हुने सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असरबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्दै बाल विवाह रोकथाम गर्न संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालेका थिए।
दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले समाजमा बाल बिवाह लगायत सामाजिक कुरीति विध्यमान रहेकाले यसको अन्त्यका लागि सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको बताए ।
कार्यक्रममा धार्मिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि किशोरी समुह तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।



