

बैतडी: बैतडीमा दशैंतिहारलाई लक्षित गर्दै १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
जिल्लाको गोठलापानी, पाटन, खोडपे, पुर्चौडी, मेलौली, गाजरीका मुख्य बजार तथा ग्रामीण क्षेत्रमा रहेका विभिन्न प्रहरी चौकीमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।

चाडपर्वका बेला यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने, गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने, यात्राका क्रममा आइपर्ने समस्या तथा गुनासोको सुनुवाइ गर्ने र आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।
यस्तै, सार्वजनिक स्थानमा हुन सक्ने चोरी, ठगी, झैझगडा तथा अन्य आपराधिक गतिविधिबाट सर्वसाधारणलाई सुरक्षित राख्न आवश्यक समन्वय र सहजीकरणसमेत सहायता कक्षबाट गरिने प्रहरीले जनाएको छ।
चाडपर्वका बेला हुने सवारी चाप तथा यात्रुको भीडलाई मध्यनजर गर्दै नागरिकलाई सहज र सुरक्षित यात्रा गराउन सहायता कक्ष प्रभावकारी हुने प्रहरीको अपेक्षा छ।



