

बैतडी : बैतडीको पाटनमा जारी छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (UPPL-6) क्रिकेट प्रतियोगितामा पाटन भ्यालीले विजयी सुरुवात गरेको छ। पाटन भ्यालीले जगन्नाथ लायन्सलाई २३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २९० रनको विशाल योगफल तयार पारेको थियो।
पाटन भ्यालीका टेक राज जोशीले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ३९ बलको सामना गर्दै १०४ रन बनाए। त्यस्तै, अभिषेक थापाले ७४ रनको योगदान दिए।

२९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको जगन्नाथ लायन्सले भने कमजोर प्रदर्शन गर्यो। जगन्नाथ १३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो।

पाटन भ्यालीका बलर किरण चन्द र जय नाथले उत्कृष्ट बलिङ गर्दै समान ३/३ विकेट लिए। जगन्नाथ लायन्सका कुनै पनि ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।
शानदार शतकीय पारी खेलेका पाटन भ्यालीका टेक राज जोशी खेलको म्यान अफ द म्याच घोषित भए।
यस जितसँगै पाटन भ्यालीले छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।



