

बैतडी : बैतडीमा पासोमा परेको चितुवा पासो नै चुडेर भागेको छ । शुक्रबार राती स्यालको लागि थापेको पासो परेको चितुवा शनिवार दिउँसो १२ बजेतिर पासो नै चुडाएर भागेको डिभिजन बन कार्यालय बैतडीका प्रमुख भरत प्रशाद भट्टले जानकारी दिनुभयो ।

चितुवाले आफै पासो चुडेर भागेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको उद्धार टोली पनि फर्किएको भट्टले बताउनुभयो । पासो सहित भागेपछि उपचारका लागि डिभिजन बन कार्यालय कर्मचारी र प्रहरीहरुले खोजी गरेका थिए । सो क्षेत्र वरीपरि नभेटिएपछि उद्धार टोलि फर्किएको बताइएको छ ।
दशरथचन्द नगरपालिका –१ गुरुखोला खालका स्थानीय भरतबहादुर टेरले स्यालका लागि भनेर थापेको पासोमा चितुवा परेको थियो। भरतबहादुरले सञ्चालन गरेको कुखुरा फर्ममा आएर स्यालले कुखुरा खाने गरेपछि पासो थापेको बताइएको छ । उक्त पासोमा शुक्रबार मध्यराती चितुवाको बायाँपट्टिको पन्जा पासोमा परेको जनाइएको छ ।



