

बैतडी : दशरथचन्द नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि केदार नागार्जुन मावि बगलेखानले जितेको छ । आईतवार निङलाशैनी खेलमैदान देहिमाण्डौंमा सम्पन्न भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत, ३ कास्य हात पार्दै उपाधि जित्न सफल भएको एथलेटिक्स रेफ्री जयराज भट्टले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा निङलाशैनी मावि देहिमाण्डौ द्वितिय स्थान हासिल गर्न सफल भएको छ । उसले ५ स्वर्ण, ६रजत, ७ कास्य जितेर दोस्रो स्थान हात पार्न सफल भएको हो ।

दानेश्वर नागार्जुन मावि रातामाटाले तृतीय स्थान हासिल गर्न सफल भएको छ । उक्त बिद्यालयले ५ स्वर्ण, २ रजत, २ कास्य गरि ९ पदक हात पार्दै तृतिय स्थान हात पार्न सफल भएको एथलेटिक्स रेफ्री भट्टले बताए ।
गत माघ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा मावि तहका २२ बिद्यालयहरुको सहभागिता रहेको थियो ।
दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुस्करराज जोशी “लख्खाभाई” को अध्यक्षतामा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि दोगदाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्की रहनुभएको थियो ।
प्रतियोगिताका बिजेता बिद्यालयलाई नगद समेत प्रदान गरिएको थियो । प्रथम हुने बिद्यालयलाई नगद रु ३५ हजर सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । द्वितियलाई नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, त्रितियलाई रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुने बिद्यालयलाई नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
