

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। राजस्थानले आज पन्जाब किंग्सलाई ५० रनले हराएको छ।
जितको लागि २ सय ६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा नै समेटियो।
पन्जाबले अत्यन्त खराब सुरुवात गर्यो। २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। ओपनर प्रियान्स आर्या इनिङ्सको पहिलो बलमा जोफ्रा आर्चरको बलमा आउट भए।
कप्तान श्रेयश अयर १० रनमा पबिलियन फर्किए। लगतै १ रन बनाएका मार्कस स्टोनिसलाई सन्दीप शर्माले कट एण्ड बोल्ड आउट गरिदिए।

चौथो विकेटको रूपमा प्रबसिमरन सिंह १७ रनमै आउट हुन पुगे। यतिखेर पन्जाबले ४३ रन बनाएको थियो। यसपछि नेहाल वादेरा र ग्लेन म्याक्सवेलले पाँचौ विकेटको लागि ८८ रनको साझेदारी गरे। म्याक्सवेल ३० रनमा आउट भए।
नेहाल वादेराले अर्धशतकीय पारी खेले। ४१ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६२ रनमा नेहाल पनि आउट भए। योसँगै पन्जाब थप दबाबमा आयो। यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।
बलिङमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। महिश थिक्साना र सन्दीप शर्माले समान २ विकेट आफ्नो नाममा लेखाए।
यसअघि पन्जाबले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइपिएलमा अहिलेसम्म २ सय रन कुनैपनि टोलीले कटाउन सकेको थिएन।
ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटको लागि ८९ रनको साझेदारी गरे। पहिलो पावर प्लेमा राजस्थानले ५३ रन बनाएको थियो। पन्जाबले १० ओभर २ बलमा पहिलो विकेट लियो। लोकी फर्गसनले ३८ रन बनाएका सञ्जुलाई आउट गरे ।
