

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा हिजो शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ।
कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।
कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट गुमाइसकेको थियो। ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल नराइन २७ रनमा आउट भए। लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए।
कप्तान अजिन्के राहने अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए। उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे। ४ विकेटको नोक्सानीमा कोलकाताले मात्र ९१ रन बनायो।
त्यसपछि अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। आन्द्रे रसलले २१ रन बनाउँदा अङकृश रघुवंशीले अविजित २७ रनमा रहे। बलिङमा प्रसिद्ध कृष्णा र रसिद खानले २/२ विकेट लिए।

त्यसअघि टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरूलाई निरिह बनाउँदै सानदार सुरूवात गर्यो।
गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे।
यी दुईले १२ ओभर २ बलमा १ सय १४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरूवात दिलाउन सफल रहे। ३६ बलमा ५२ रन जोडेर साई आउट भए। आन्द्रे रसलले साझेदारी तोड्दै साइलाई आउट गरे।
त्यसपछि जोश बटलरले शुभमनलाई साथ दिए। दोस्रो विकेटको लागि उनीहरुले ५८ रनको साझेदारी गर्दै कोलकाताका बलरहरूलाई दबाब दिए।
गिल शतकबाट १० रनले चुके। सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए।
जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनना क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे ।कोलकातका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १/१ विकेट लिए। अन्य चार बलर विकेट विहिन रहे।
गुजरात दोस्रो स्थानमा रहेको दिल्लीसँगको दुरी २ अंकमा बढाएको छ। दिल्लीले एक खेल कम खेलेको छ। ७ खेल खेलेको दिल्लीसँग १० अंक रहेको छ। कोलकाता भने यो पाँचौं हार हो। आठ खेलबाट उससँग मात्र ६ अंक रहेको छ।
