

काठमाडौं : हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।
अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन आवश्यक थियो । ठूलो सट हान्ने क्रममा जोरा किशोर महतोबाट क्याच आउट भए ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्सले ३१ र अर्जुन साउदले २० रन जोडे । सन्दिप जोराले ८ बलमा १६ रन बनाएपनि जित दिलाउन सकेनन् ।



